एजेन्सी / वैदेशिक रोजगारीमा जाने हरेक युवाको सपना हुन्छ– परिवारलाई खुसी दिने। यसरी परिवारको खुसीको खोजीमा विदेश भासिने नेपालीको संख्या बर्सेनि बढ्दो छ।

तर, परिवारको खुसीका लागि विदेशी भूमिमा श्रम बेच्न अभिशप्त नेपालीको जीवन अकालमै टुंगिरहेको छ।

नेपालीको मुख्य श्रम गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन् २०१९ मा मात्रै १ सय ३ जना नेपालीेले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरुमा ९९ जना पुरुष र ४ जना महिला छन्।

कार्यस्थलदेखि दुर्घटनालगायतमा परेर युएईमा एक वर्षको अवधिमा १ सय ३ जनाले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दुर्घटनामा नेपाली परेका थिए। जसमा ३ जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका छन्।

नेपाली दुतावास आबुधाबीका अनुसार, गत वर्ष दुर्घटनामा परेर मात्रै २३ जना नेपालीले ज्यान गुमाएका छन्। १ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट ज्यान गएको छ। यस्तै एक महिला र १७ जना पुरुषले आत्महत्या गरेको तथ्यांक छ।

सन् २०१८ मा युएईमा ज्यान गुमाउने नेपालीको संख्या अझै बढी छ। युएईस्थित नेपाली दूतावासका अनुसार, सन् २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएका थिए।

सन् २०१८ मा ३ महिला सहित ३० जनानेपालीले आत्महत्या गरेका थिए। यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ।

पारिवारिक विचलन, कार्यस्थलको तनावका कारण नेपालीले यूएईमा आत्महत्या गर्ने गरेको दूतावासका सूचना अधिकारी भुवन ओझा बताउँनुहुन्छ। ओझाका अनुसार, तापक्रम, हृदयघात, मादकपदार्थ सेवनलगायत कारणले पनि कतिपय नेपालीको ज्यान गइरहेको छ।

पछिल्ला केही वर्षयता युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएका छन्। एक तथ्यांकअनुसार, युएईमा मात्रै २ लाख ५० हजार जना नेपाली युवा श्रम खर्चिरहेका छन्।