काठमाण्डौ / अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आज आफ्नो १२ औँ म्याच खेल्दै छ। मेलबर्नले १२ औँ म्याच सिड्नी सिक्सर्सविरुद्ध खेल्न लागेको हो। 

सिड्नी र मेलबर्नबीचको खेल दिउँसो १ः२५ बजेदेखि सुरु हुने छ। ११ म्याच खेल्दा १० खेलमा प्लेइङ ११ मा मौका पाएका सन्दीपले आज पनि अवसर पाउने सम्भावना बलियो छ। जारी सिजनमा उनले १० म्याचमा १२ विकेट लिएका छन्। सिक्सर्स विरुद्धको खेलका लागि मेलबर्नले आइतबार घोषणा गरेको १३ सदस्यीय टोलीमासमेत सन्दीप अटाई सकेका छन्।

जारी प्रतियोगितामा उनीआवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेकाे छ। गत सिजन उपविजेतासमेत रहेको मेलबर्नले ११ म्याच खेल्दा १० खेलमा जित हात पारेको छ। र, उसले तालिकामा २० अंक बटुलिसकेको छ। मेलबर्न तालिकाको शीर्ष स्थानमा रहँदा सिक्सर्स तेस्रो नम्बरमा छ। उसले ११ म्याच खेल्दा ६ खेलमा जित हासिल गरेको छ। र, सिक्सर्सले १३ अंक बनाएको छ। मेलबर्न यो सिजनमा पनि ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल र सिक्सर्समा मोइसेस हेनरिक्स कप्तान रहेका छन्। सिक्सर्समा टम करन, जेम्स विन्स, नाथन लायनलगायत स्टार क्रिकेटर छन्।

सिक्सर्सविरुद्ध खेल्ने मेलबर्नको टीमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, ज्याक्सन कोलम्यान, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, जोनाथन मेर्लो, लान्स मोरिस, मार्कस स्टोइनिस र डानियल वर्रल।

मेलबर्नविरुद्ध खेल्ने सिक्सर्सको टीमः ओस्टिन अभेन्डानो ज्याक्सन बर्ड, टम कुरान, बेन द्वारशुइस, मिकी एडवर्ड्स, मोइज हेनरिक्स (कप्तान), ड्यान ह्युजेस, जेम्स विन्स, नाथन लायन, स्टीभ ओकिफ, जोस फिलिप, लोयड पोप र जोर्डन रेशम।