काठमाण्डौ / सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा इटालियन युभेन्टसले घरेलु लिग सिरी ए फुटबलमा महत्त्वपूर्ण जित निकालेको छ। नेपाली समयअनुसार सोमबार बिहान भएको लिगको २०औं खेलमा युभेन्टसले पाहुना टोली पार्मालाई २–१ ले हरायो।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा २ वटै गोल रोनाल्डोले गरे। उनले पहिलो गोल ४३औं मिनेटमा गरे। तर, ५५औं मिनेटमा पार्माका लागि आन्द्रेस कोर्नेलिउसले गोल गर्दै खेल १–१ बनाए।

त्यसको ३ मिनेटमै रोनाल्डोले पाउलो डिबालाको पासमा व्यक्तिगत दोस्रो गोल गरेर घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। बाँकी समयमा थप गोल नभएपछि खेल युभेन्टसले जित्यो।

अब यो जितसँगै युभेन्टसले २० खेलबाट ५१ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ। उसले इन्टर मिलानलाई स्पष्ट ४ अंकले पछि पारेको छ। युभेन्टसका लागि उपाधि होडमा पार्माविरुद्धको जित निकै महत्त्वपूर्ण हुनेछ। यता, पराजित पार्मा भने २८ अंकसहित सातौं स्थानमा यथावत छ।