दाङ / नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पूर्ण समर्थनमा कांग्रेस रहेको बताउनुभएको छ। आइतबार नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसीसी नेपालको हितमा रहेकाले जसरी पनि संसद्‍बाट पारित हुने बताउनुभयो।

नेपालको विकासको सन्दर्भमा एमसीसी मुटु नै भएको दाबी गर्दै सभापति देउवाले विद्युत व्यापार र विस्तारमा महत्त्वपूर्ण काम गर्न पारित गरिनु पर्ने उल्लेख गर्नुभयो। उहाँले इन्डोप्यासिफिक जस्तो सैनेगतिविधि सञ्चालन गर्ने रणनीति नभएको विषयमा अमेरीकी राजदूतावासले स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ।

सभापति देउवाले बुटवलदेखि डिल्लीसम्म इन्डियाले ट्रान्स्मिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिँदै नेपालको सडक निर्माण तथा विस्तारमा समेत सहयोग पुग्‍ने आशा व्यक्त गर्नुभयो।