मोरङ / सामाजिक संजाल फेसबुकमा एक विवाहित महिलालाई ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन लगाउने रविन आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय आचार्यलाई महिलाको किटानी जाहेरी पछि प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार विभिन्न खाले धम्की दिँदै डर देखाएर पटक–पटक बलात्कार गरेको, पटक पटक फेसबुकमा नाङ्गा फोटा पठाउन लगाएको किटानी जाहेरीमा उल्लेख छ। डिएसपी गिरीका अनुसार पक्राउ परेका युवाले प्रारम्भिक अनुसन्धानका क्रममा दिएको वयानबाट पनि बलात्कार गरेको समेत खुलेको छ। पछिल्लो पटक चार दिन अघि बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको गिरीले बताउनुभयो।

प्रहरीका अनुसार फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर युवाले युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला परेका छन्। डीएसपी गिरीका अनुसार आफूसँग रहेको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने र यदि नगर्नु हो भने मैले भनेको मान्नु पर्छ भनेर ‘ब्ल्याकमेल’ गरेपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बारम्बार घटना दोहारिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन्। पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन्। प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ।

आचार्यले बलात्कारका लागि ‘ब्ल्याकमेल’ गरेका धेरै प्रमाण प्रहरीसँग सुरक्षित रहेको डीएसपी गिरीले बताउनुभयो। पक्राउ परेका आचार्य विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धानका लागि आइतबार म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ।