काठमाण्डौ / सभामुखबारे सहमति जुटाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच बालुवाटारमा छलफलमा बस्नुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नौ बजेदेखि दुईजना अध्यक्षबीच छलफल शुरु भएको हो।

गएको बिहीबार र शुक्रबार पनि दुईजना अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्नेमा छलफल भएपनि निष्कर्ष आउन सकेको थिएन। तर दुवै दिनका छलफल सकारात्मक भएको दुवै अध्यक्षको सचिवालयले जानकारी गराएको थियो।

सभामुख छान्न नेकपाले निर्णय गर्न ढिलाइ गरेपछि प्रतिनिधिसभा बैठक पटक–पटक स्थगित हुँदै आएको छ।प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ। नेकपामा आज बेलुकासम्म पनि सभामुखबारे टुङ्गो नलागे भोलिको संसद बैठक पनि स्थगित हुने सम्भावना रहेको छ। तर नेकपाका नेताहरुका अनुसार भोलि विहानसम्म नेकपाले सभामुखको निर्णय गरिसक्ने गरी दुईजना अध्यक्षबीच कुराकानी भइरहेको छ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र अर्का अध्यक्ष दाहालले अग्नि सापकोटालाई अघि सार्दै आउनुभएको छ। नेकपाका दुवै अध्यक्षले सभामुखमा आ–आफ्ना पूर्वसमूहका नेताको नाम अघि सारेका छन्।

नेकपाको केन्द्रीय सचिवालयका ९ जना नेतामध्ये अध्यक्ष दाहाल, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सभामुख उम्मेवार दाहालले प्रस्ताव गर्न पाउनुपर्ने पक्षमा रहेको दाहालनिकट स्रोतले जनाएको छ। दुवै नेताबीच सहमतिमै नाम तय गरेर सचिवालयमा ल्याउन अन्य नेताले सुझाव दिएका छन्।

वामदेव भन्छन्, ‘दाहाललाई प्रस्ताव गर्न दिऊ’

यसैबीच नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले सभामुख उम्मेद्वार दाहाललाई प्रस्ताव गर्न दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ। उहाँले सचिवालयमा आफ्नो मत व्यक्त गर्नुपर्दा आफूले दाहाललाई साथ दिने समेत बताउनुभयो।

गौतमले भने, ‘सभामुखमा दाहालले नै सुवास नेम्वाङको नाम प्रस्ताव गर्नु भए उहाँ पार्टीको साझा अध्यक्ष भएको अनुभूति सबैले गर्ने थिए। किनकी एकीकृत पार्टीको कार्यकारी अध्यक्षले हिजोको समूहको भाग खोज्नु राम्रो होइन। तर, उहाँलाई पार्टी एकता भइसकेको छैन भन्ने लागेको हो भने विगतको शक्ति सन्तुलन अनुसार सभामुख उहाँले नै प्रस्ताव गर्न पाउनुपर्छ।’