काठमाण्डौ / प्रहरी परिसर काठमाण्डौमा गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा औपचारिक रुपमा उजुरी दर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले गत बिहीबार राउतले आफूमाथि ड्युटीमा रहेका बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको भन्दै महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा उजुरी दिएकी थिइन्।

महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जवान श्रेष्ठको उजुरी र सो घटनाको सीसीटीभी फुटेज महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी पठाएको थियो। प्रहरी आयुक्तको कार्यालयले सीसीटीभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आदार मान्दै काठमाण्डौ परिसरलाई औपचारिक रुपमा उजुरी दर्ता गरेर गायिका राउतमाथि कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको हो।

आयुक्त कार्यालयको निर्देशन पछि परिसरमा औपचारिक रुपमा उजुरी दर्ता भएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताउनुभयो।

महानगरीय प्रहरी परिसर काठमाण्डौले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेर गायिका राउतलाई अनुसन्धानका लागि झिकाउने प्रकृया अगाडि बढाउन लागेको जनाएको छ। यो कसुर प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारीले आरोपीविरुद्ध एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय गराउन सक्छन्।

astha विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउत र प्रहरी जवानबीच केही ‘वादविवाद’ भइरहेको सीसीटिभी फुटेजमा देखिन्छ। सो विवादपछि राउतले फेसबुकबाट प्रहरीमाथि आक्रोश पोखेपछि घटनाले ठूलो रुप लिएको हो। बिहीबार नै प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेज समेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो।

यता सामाजिक सञ्जालहरुमा गायिका आस्था राउतमाथि लिएको प्रहरी एक्सनको समेत आलोचना हुन थालेको छ। प्रहरी संगठनभित्रका कमजोरीहरुलाई सच्याउनुको सट्टा समस्या औंल्याउनेमाथि नै कार्वाही गर्न प्रहरी उद्दत देखिएकोे भन्दै आलोचना समेत हुन थालेको छ।