काठमाण्डौ / खेलको ९०औं मिनेटमा आत्मघाती गोल खाएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलमा अर्को बराबरीमा रोकिएको छ। शनिबार राति भएको लिगको २३औं खेलमा सिटी अवे मैदानमा क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकियो। सिटी हारतर्फ अघि बढेका बेला सर्जियो अगुएरोले खेलको अन्त्यतिर ५ मिनेटमा २ गोल गर्दै टिमलाई जितको बाटो देखाए पनि सिटी आत्मघाती गोलले अड्कियो। घरेलु टोली प्यालेसले खेलको ३९औं मिनेटमा सिन्क टोसुनको गोलबाट अग्रता लिएको थियो।

सोही अग्रता लिएर प्यालेस जित नजिक पुगेको थियो। तर, खेलको ८२औं मिनेटमा अगुएरोले गोल गर्दै खेल १–१ बनाए। लगत्तै ८७औं मिनेटमा अगुएरोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी जितनजिक पुगेको थियो। तर, खेलको ९०औं मिनेटमा सिटीका डिफेन्डर फर्नान्डिन्होले आत्मघाती गोल गरे। प्यालेसका खेलाडीले मैदानको माथिल्लो कुनाबाट हानेको प्रहार पोस्टअघि रहेका फर्नान्डिन्होको खुट्टामा लाग्दै गोल भएपछि खेल २–२ को बराबरीमा सकियो।

अब यससँगै दुवै टिमले अंक बाँडेका छन्। यो बराबरीपछि सिटीलाई उपाधि होडमा फर्किने बाटो भन् लामो भएको छ। सिटीको खातामा अब २३ खेलबाट मात्रै ४८ अंक छ। ऊ एक खेल कम खेलेको लिग लिडर लिभरपुलभन्दा १३ अंकले पछि। प्यालेस ३० अंकसहित नवौं स्थानमा छ। आज हुने आफ्नो खेलमा लिभरपुलले जिते उसले सिटीलाई १६ अंकले पछि पार्नेछ।