एजेन्सी / भारतको राजधानी दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुने भएको छ।

आइतबारदेखि लागू हुने कानुनले १८ अप्रिल २०२० सम्म आपतकालीन अवस्थामा जोकोही व्यक्तिलाई पनि हिरासतमा राख्ने अधिकार दिएको दिल्लीका उपराज्यपाल अनिल बैजलले बताउनुभएको छ।

गएको पुस २६ गते जारी गरिएको कानुनअनुसार अब कोही पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण नबताइ एक वर्षसम्म हिरासतमा राख्न सकिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कानुनी व्यवस्था र देशको सुरक्षाको लागि कोही व्यक्तिमाथि प्रशासन र अधिकारीले शंका गरे पक्राउ गर्न सक्ने अधिकार यो कानुनमा छ।

दिल्लीमा नागरिकता संसोधन कानुन र नेश्नल रजिस्टर अफ सिटिजन्सको विरुद्ध आन्दोलन चलिरहेका बेला यो कानुन पारित भएको थियो।