काठमाण्डौ / यतिबेला गायिका आस्था राउत चर्चा र विवादको शिखरमा छिन। विमानस्थलमा प्रहरीसंग भएको विवादका कारण उनि तनावमा पनि छन्।

उता नेपाल प्रहरी भने गायिका राउतमाथि कारबाही प्रक्रिया अगाडी बढाएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउतले गरेको ‘अभद्र व्यवहार’को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको हो।

सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।

महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो। सो जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ।

श्रेष्ठको सोहि जाहेरी बमोजिम कारबाही गर्ने तयारी गरिएको हो। जाहेरी महानगरीय प्रहरी परिसर काठमाण्डौमा आज पुग्दैछ। महानगरीय प्रहरी परिसर काठमाण्डौमा सो जाहेरी प्राप्त भएपछि गायिका राउतमाथि कारबाही हुने काठमाण्डौ परिसरले जानाएको छ।

गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैँयादेखि एक लाख रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ। शुक्रबार मात्रै विमानस्थलमा भएको दुर्व्यवहारको सीसीटिभी फुटेज बाहिरिएको थियो जसमा गायिका राउतले प्रहरीलाई औंला ठड्याएको र रिसाएको देखिएको छ।

अहिले यसै बिषयमा सामाजिक संजालमा पक्ष र विपक्षमा बहस भैरहेको छ। - एजेन्सी