एजेन्सी / भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिने मिति पर सारिएको छ। नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको हो।

पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीहरुलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइनेछ। अदालतले दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिइने अदालतले जनाएको हो।

यसपघि जनवरी २२ अर्थात माघ ८ गतेको लागि फाँसीको सजाय सुनाइएको थियो। तर, दोषी मध्येका मुकेश सिंहले दिएको जीवन रक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार खारेज गरेपछि उनीहरूको मृत्यदुण्ड निश्चित भएको हो।

घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन्। राष्ट्रपतिले जीवन रक्षाको अपिल खारेज गरेपछि अदालतका अधिकारीहरुले चारजना दोषीको विरुद्धमा नयाँ डेथ वारेन्टी जारी गरेकोे हो।

सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो।

यस्तो थियो घटना

सन् २०१२ डिसेम्बर १६ को राति दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कार गरेका थिए। चारजना दोषी बाहेक एक प्रमुख आरोपित राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए।

घटना हुँदा नाबालिग रहेका एकजना अपराधीलाई सुधारगृह पठाइएको थियो। सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो। उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो।

अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ। अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ।