वासिङटन / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभले सिनेटमा पठाएको छ। यसअघि हाउस अफ रिप्रेजेन्टेटिभमा उनीमाथि महाभियोग लगाउनेसम्बन्धी प्रस्तावमा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए।

हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउने प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन्। हाउस अफ रिप्रेजेन्टेटिभमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सांसद थेरै रहे पनि सिनेटमा भने रिपब्लिकनका सांसद धेरै रहेका छन्।

सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को साताबाट अघि बढ्नेछ। प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हामी फेरि अगाडि बढ्नेछौँ, डेमोक्र्याटहरूले केही गर्नसक्दैनन्।’अमेरिकाको इतिहासमा यसरी संसद्को तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिमध्ये ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।

विपक्षीले ट्रम्पलाई शक्ति दुरुपयोग गरेको, संसदीय कारबाहीमा अवरोध पुर्‍याएकोलगायतका आरोपसहित महाभियोग लगाउन प्रस्ताव गरेका हुन्। राष्ट्रपति ट्रम्प र उनका समर्थकले भने ती आरोप खण्डन गर्दै आएका छन्। उनीहरूले ट्रम्पविरुद्धको महाभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिँदै आएका छन्।

हाउस अफ रिप्रिजेन्टेटिभसले गत महिना राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो। माथिल्लो सदनले पनि सो प्रस्ताव पारित गरेमा राष्ट्रपति ट्रम्पले राजीनामा दिनुपर्नेछ। ट्रम्पको समर्थन र विरोधमा अमेरिकी विभाजित भएका छन्। विरोधीले महाभियोगको प्रस्तावले ट्रम्पलाई नकारात्मक असर पारेको ठानेका छन् भने समर्थकले यसबाट कुनै असर नपरेको दाबी गरेका छन्।