काठमाण्डौ / एक पटकको चार्जमा १ हजार १८ किलोमिटर रेन्जका साथ गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको अस्ट्रेलियन उत्पादन ब्रिग्सन विद्युतीय बस नेपालमा आउने भएको छ।

अस्ट्रेलियाको कम्पनी ब्रिग्सन टेक्नोलोजीले उत्पादन गरेको विद्युतीय बस हिमालय अर्गनाइजेशनको हिमालय मोट्रोक्सले नेपालमा ल्याउन लागेको हो।

बुधवार हिमालय मोट्रोक्सले ब्रिग्सनको नेपालको लागि आधिकारिक डिलरशिप लिएको जानकारी गराउँदै आगामी २ महीनामा बस नेपाल ल्याउने जानकारी दियो। सो बस सामान्य चार्जरमा ४ देखि ८ घण्टामा पूर्ण चार्ज हुन्छ।

एकपटकको चार्जमा १ हजार किलोमिटर रेन्ज दिने बताउँदै हिमालय मोट्रोक्सका प्रवन्धक सौरभ थापाले नेपालको सडकमा पनि ८ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गर्नुभयो। जुन सामान्य अन्य विद्युतीय बसको भन्दा दोब्बर हो।

विद्यूतीय बस वातावरण अनुकूल हुने भएकाले र आटोमोबाइलको भविश्य हरेर विद्युतीय बस ल्याएको कम्पनीका प्रवन्ध निर्देशक ध्रूब थापाले बताउनुभयो। बसमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ। सामान्यतया ब्याट्रीको आयु ८ देखि १० वर्ष हुने गरेकोमा यस ब्याट्रीको आयु ४० वर्षसम्म हुने र २० वर्ष कम्पनी ज्ञारेन्टी दिने दाबी उहाँको छ।

विद्युतीय बसको ब्याट्री भावी दिनमा झन खतरनाक हुन्छ त्यसैले यसलाई व्यवस्थित गर्न आवश्यक हुन्छ, उहाँले भन्नुभयो, यसको ब्याट्री पुन ब्याट्री बनाउन प्रयोग कम्पनीले गर्छ। हाल साइप्रस, चीन, कोरियामा उत्पान हुने यो बस आगामी २ महीनामै भारतमा बन्ने र त्यहीबाट बस ल्याउने तयारी कम्पनीको छ।

ब्रिग्सनले २०१५ देखि विद्युतीय बस उत्पादन शुरू गरेकोमा २०१६ देखि व्यवसायीक शुरुआत गरेको थियो। कम्पनीले बसको मूल्य कती हुने भन्ने आयात पछि थाह हुने बताएको छ।