एजेन्सी / भारतको बिहार राज्यको वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले ननुहाएको कारण देखाउँदै सम्बन्धविच्छेद मागेकी छन्। वैशालीकी २० वर्षीया सोनी रामले आफ्ना श्रीमान २३ वर्षीय मनिष रामले हरेक दिन ननुहाएको र ब्रश नगरेकाले सम्बन्धविच्छेद मागेकी हुन्।

बिहार महिला आयोगमा सो उजुरी पुगेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्न दुई महिनाको समय दिएको छ। यदि सो अवधिमा मनिषले आफ्नो बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनी दिएको छ। आयोगकी अध्यक्ष दिलमणि मिश्रले भनिन्, ‘नयागांव निवासी सोनीले पतिबाट सम्बन्धविच्छेदको लागि अनुरोध गरिन्।’

मनिषसँग २०१७ मा उनको बिहे भएको थियो। मनीष पलम्बरको काम गर्छन्। ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने सोनीको आरोप छ। ‘उसले न त ब्रश गर्छ न त नुहाउँछ नै,’ उनले भनिन्, ‘१० दिनपछि मात्र उसले नुहाउँछ। पतिको रूपमा उसको व्यवहार पनि राम्रो छैन।’ सोनी पतिसँग कुनै पनि शर्तमा बस्न चाहदिनन्।