खोटाङ / यौन दुर्व्यवहारको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक पक्राउ परेका छन्। भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन्।

आचार्यमाथि आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुव्र्यहार गरेको अभियोगसहित उजुरी परेपछि मंगलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो।

“आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै छात्राले उजूरी दिएलगत्तै आरोपित आचार्यलाई पक्राउ गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ।”

जबरजस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको आचार्यलाई बिहीबार जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ। बुधबार सार्वजनिक बिदा भएकाले बिहीबार मात्र आचार्यलाई अदालत हाजिर गराउने तयारी गरिएको प्रनाउ गौतमले बताउनुभयो।

प्रहरीमा उजूरी दिएर पीडक पक्राउ परेपछि उनका आफन्तले मिल्नका लागि फोन र भेटघाटमा दवाव दिइरहेको पीडित छात्राले गुनासो गरेकी छन्। स्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीनजना विद्यार्थीमध्ये उनलाई यथास्थानमा राखेर दुईजनालाई भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलमा पठाइएको छ।