मोरङ / प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कारण लामो समयदेखि संसद बन्धक भइरहेको बताएका छन्।

उहाँले सभामुख चयन प्रक्रिया छिटो शुरू गर्नुपर्ने बताउनुभयो। हिउँदे अधिवेशन आह्वान भएको महिना दिनसम्म पनि नेकपाले सभामुखको उम्मेद्वार दिन नसकेको बताउँदै अब धेरै कुर्न नसकिने बताउनुभयो।

‘नेकपाले महिनौं दिनसम्म यसरी संसद बन्धक बनाउन मिल्दैन। उहाँहरू (ओली–दाहाल) मिल्दै नमिल्ने हो भने हामी संसद चलाई दिन्छौं,’ देउवाले भन्नुभयो। नेकपाभित्र आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको छ।

पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ। अर्को बैठक माघ ६ गते दिउँसो १ बजे संसद बैठक डाकिएको छ। तर, अझै सत्तारुढ दलमा सभामुखको उम्मेद्वारबारे सहमति जुट्न सकिरहेको छैन।

यसैबीच सभापति देउवाले पार्टीभत्रको असमझदारी हल हुने क्रममा रहेको समेत दावी गर्नुभएको छ। बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आफूले कुराकानी गरिसकेको उल्लेख गर्दै देउवाले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने दावी गर्नुभयो।

महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाण्डौमा गर्ने निर्णय कांग्रेसले गरेपछि आफूहरूको परामर्श बिना नै सभापति अघि बढेकोमा पौडेल र सिटौला रूष्ट थिए। ‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो। तोकिएकै समयमा महाधिवेशन हुन्छ,’ सभापति देउवाले भन्नुभयो।