झापा/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकका परिवारलाई प्रदेश १ मा हालसम्मकै उच्च मृत्युदावी भुक्तानी गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका ३का मृतक इन्द्रप्रसाद दंगालको परिवारलाई कम्पनीले उच्च मृत्युदावी भुक्तानी गरेको हो।

दंगालको परिवारलाई मृत्यदावी भुक्तानी वापत नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ३ लाख १५ हजार रुपैँया उपलब्ध गराएको हो। कम्पनीको बिर्तामोड शाखाले मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच मृतक दंगालकी पत्नि सुस्मितालाई कम्पनीका १ नम्बर प्रदेश इञ्चार्ज नरेन्द्र कुमार राई र उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईले राहत वापतको चेक हस्तान्तरण गरेका हुन्।

मृतक दंगालले ६ महिना अघि मात्र कम्पनीको बिर्तामोड शाखाबाट ५० लाखको जीवन बीमा गर्नुभएको थियो। उहाँले कम्पनीमा १६ बर्षेको जीवन अमृत बर्षा बीमा गर्नुभएको थियो। पहिलो किस्ता मात्र भुक्तानी गर्नुभएका दंगालको गत कार्तिक ४ गते सवारी दुर्घटनामा निधन भएको थियो। काम बिशेषले शिबसताक्षी नगरपालिकाको दुधेमा आएको समयमा दंगाललाई सवारी साधनले ठक्कर दिँदा घाईते हुनुभएको थियो। उहाँको उपचारको क्रममा निधन भएको बताइएको छ।

मृत्युदावी भुक्तानी कार्यक्रमको अध्यक्षता बिर्तामोड शाखा प्रमुख कमल बुढाथोकीले गर्नुभएको थियो। सो अवसरमा कम्पनीका प्रदेश १ का इञ्चार्ज राइले नेपाली समाजमा जीवन बीमा आवश्यक्ता भएर पनि बाध्यताबीच भईरहेको बताउनुभयो। उहाँले नेपालमा जीवन बीमाको ५० बर्षे समयमा क्रमशः बीमा सम्बन्धी मान्छेमा जनचेतना अभिबृद्धि हुँदै गइरहेको बताउनुभयो।

उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि कुमार भट्टराईले जीवन बीमा कम्पनीप्रति सर्वसाधरणको दृष्टिकोण नकारात्मक हुदाँहुदैपनि यस्ता खाले कार्यक्रमले सर्वसाधारणहरुलाई सकारात्मक पार्न सकिने बताउनुभयो। कार्यक्रममा कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार राई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, कम्पनीका एजेन्सी म्यानेजर नारायणप्रसाद खरेल, युवराज दंगाल, अर्जुन राईलगायतको उपस्थिति थियो।