काठमाण्डाै / नेपालमा माघे सक्रान्तिको आसपासमा बर्सेनि झण्डै १० करोड रुपैयाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन्।

माघे संक्रान्तिमा धेरै खपत हुने भएकाले यो चाडलाई लक्षित गरी १० करोडको तरुलको कारोबार हुने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले जानकारी दिनुभयो।

नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही भारतबाट आयात हुने गरेको छ। यो पुस महिनामा कालिमाटीमा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ।

माघे सक्रान्तिका लागि कालीमाटी बजारमा झण्डै १५ सय टन तरुल भित्रिएको छ। पोहोरको माघे सक्रान्तिका लागि भनेर ७ देखि ८ सय टन तरुल मात्रै भित्रिएको थियो। पोहोरको तुलनामा तरुलको भाउ यसपटक किलोमा १५, २० रुपैयाँ बढी भए पनि कारोबार भने बढेको व्यवसायीले बताएका छन्।

काठमाण्डौमा तरुलको कारोबार बढे पनि पिँडालु र सखरखण्डको कारोबार भने खासै घटबढ भएको छैन। पुस महिनाभरमा कालीमाटीमा १ सय ७२ टन पिँडालु र २ सय ४२ टन सखरखण्ड भित्रिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समतिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो।