पोखरा / गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ बनाउने भएको छ। स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमनलाई थप सहज बनाउने उदेश्यले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने जानकारी दिनुभयो। सबै स्थानीय तहमा एकरएक वटा हेलिप्याड निर्माण गर्ने योजनासहित प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल थालेको उहाँले बताउनुभयो।

मन्त्री लम्सालका अनुसार प्रदेश सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५/७६ को बजेटमा करिब आठ लाख विनियोजन गरेको छ। यी चार जिल्लामा चालु आवभित्रै हेलिप्याड निर्माण गरिसकिने छ।

हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्‍याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टरमार्फत पर्यटकलाई सहजरूपमा आवतजावत गर्न सहयोग पुग्ने छ।