भक्तपुर / सार्वजनिक बसमा यात्रा गर्ने महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा चालक मिलन दाहाल पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर कटारी ५ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय दाहाल रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बा २ ख ९३२४ नम्बरको बसका चालक दाहालले लगनखेलको सडकपेटीमा व्यापार गर्ने ती महिला सामान लिन सोमबार बिहान ५ः४५ बने लगनखेलबाट न्यूरोड जाने क्रममा दुर्व्यवहार गरेका थिए।

दाहालले महिला बसमा एक्लै भएको मौकामा मोबाइल समेत नियन्त्रणमा लिइ दुर्व्यवहार गरेको उजुरीको आधारमा काठमाण्डौको ढल्कुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीमाथि सोमबारै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दिन ७ को म्याद लिई महानगरीय प्रहरी परिसरको हिरासतमा राखी अनुसन्धान कार्य जारी रहेको छ।