मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने अर्थमन्त्रीकाे चेतावनी

  • शोभित मगर
  • प्रकाशित मिति: पुष 29, 2076

काठमाण्डाै / अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।

बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मूल्य निर्धारण गरेर एलसी खोल्ने गरेकोले विकृति बढेको बताउनुभयो। सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूचि सरकारले उपलब्ध गराउने र त्यही मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताउनुभयाे। 

अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ती शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो।

सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डिङ तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन पनि आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताउनुभयो। त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताउनुभयो। 

अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझै पनि व्यवसायिक वातावरण बिग्रिएको बताउनुभयो। अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर बढाएको छैन, मूल्य अभिवृद्धि कर पनि बढाएको छैन तर कसरी व्यवसायीक वातावरण बिग्रियो भन्दै प्रश्न गर्नुभयो। उहाँले व्यवसायीलाई निरुत्साहित गरेर सुशासन कायम गर्न नसकिने समेत बताउनुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved