विराटनगर / विराटनगरमा बुधबारदेखि ‘विराट सडक महोत्सव’ हुने भएको छ। भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव गर्न लागिएको हो।

माघ १ देखि ४ गतेसम्म आयोजना हुने विराट सडक महोत्सवका बारेमा सोमबार विराटनगरमा मन्जिना मुभिज क्रिएशनले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। विराटनगर महानगरपालिको सहयोगमा हुन लागेको महोत्सवमा विराटनगरको ट्राफिकचौकदेखि महेन्द्र चौकसम्मको सडकलाई महोत्सव स्थल तोकिएको मन्जिना मुभिज त्रिएशसनका प्रवधन्क निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो।

प्रत्येक दिन दिउँसो ३ देखि साँझ ८ बजेसम्म महोत्सव हुने उहाँको भनाइ छ। सडक महोत्सवमा स्वदेशी खाना र स्थानीय स्तरमा उत्पादन भएका वस्तुका साथै दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ। मनोरञ्जनका लागि स्थानीय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति हुने छ। मोहत्सवमा नेवारी, थारु, मारवाडी, थकाली र अन्य विभिन्न परिकारका ५० स्टलहरु रहने छन्। स्टलको लागि बुकिङ्ग पनि खुल्ला गरिएको आयोजकले जनाएको छ।

सरकाले मनाउँदै गरेको भ्रमण वर्षलाई निजी क्षेत्रबाट पनि सहयोग पुर्‍याउन महोत्सव गरिएको ताम्रकारको भनाइ छ। महोत्सव स्थलमा प्रदेश १ का रमणिय पर्यटकी गन्तव्यहरूको फोटाहरु पनि रहनेछ। ताम्रकारका अनुसार महोत्सव एक लाखले अवलोकन गर्ने अपेक्षा छ। एक करोड रुपैँयाभन्दा बढीको कारोबार लक्ष्य राखिएको छ।