काठमाण्डौ / प्रदेश नम्बर २ सरकारले प्रदेशभरिका अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ। नदीमा बालुवा, गिट्टीको अवैध उत्खननको विरोध गरिरहेका धनुषाका दिलिप महतोको हत्या गरिएपछि प्रदेश सरकारले मापदण्ड विपरीत चलाइएका क्रसर उद्योगहरू बन्द गराउन चासो देखाएको हो।

प्रदेश नम्बर २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेशभरका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेर अवैध क्रसर उद्योगहरू बन्द गर्ने निर्देशन दिन लागेको बताउनुभयो। कानूनी र मापदण्डविपरित सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न तत्काल काम थाल्ने गरी पत्र पठाउँदै छु, उहाँले भन्नुभयो।

प्रदेश नम्बर २ का मूख्य न्यायाधिवक्ता दिपेन्द्र झाले क्रसर उद्योगहरूको नियमनका लागि पर्यटन मन्त्रालयले नयाँ विधेयकको मस्यौदा तयार पारिसकेकोसमेत बताउनुभयो।