एजेन्सी / ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छिन्। २१ वर्षीया किमिया यसबारेमा सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेकी छिन्, जसका अनुसार उनी ईरानमा ‘पाखण्ड, भुट, अन्याय र चाप्लुसी’ को हिस्सा बन्न चाहँदिनन्।

उनले आफैलाई ईरानका सताइएका लाखौँ महिलामध्ये एक मानेकी छिन्। किमिया यो समय कहाँ छिन्, उनले केही पनि जानकारी दिएकी छैनन्। तर ईरानी सञ्चारमाध्यमका अनुसार उनी प्रशिक्षणको क्रममा न्युजिल्याण्डमा हुन सक्ने बताइएको छ।

उनले सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कांस्य पदक जित्दै ईरानका लागि इतिहास रचेकी थिइन्।

उनले सामाजिक सञ्जालको पोस्टमा ईरानका अधिकारीहरुले आफ्नो सफलतालाई प्रोपोगाण्डाको रुपमा प्रयोग गरेको आरोप लगाएकी छिन्।

ईरानमा सरकारविरुद्ध प्रदर्शन चर्किरहँदा किमियाले देश छोड्ने फैसला गरेकी हुन्। गएको बुधबार युक्रेनी यात्री विमान भुलवश मिसाइल प्रहारबाट खसालिएको र दुई दिनसम्म झुट बोलेको भन्दै ईरानका जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्।

यसबाहेक पछिल्लो दिनयता ईरान र अमेरिकाबीच तनाव बढिरहेको छ।

अधिकारीहरुले गरे अपमान

किमियाले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्, ‘म ईरानमा सताइएका लाखौँ महिलामध्ये एक हूँ, मैले वर्षौँसम्म देशको लागि खेलेँ। अधिकारीहरुले जे भने मैले मानिरहेँ। सबै आदेशको पालना गरेँ तर उनीहरुका लागि हाम्रो कुनै महत्व छैन। हामीलाई केवल प्रयोग हुने हतियार बनाइयो।’

साथै उनले युरोपबाट आकर्षक प्रस्ताव आएको भन्ने खबर साँचो नभएको र कहाँ जाने भनेर निर्णय नगरिसकेको बताइन्। गएको हप्ता उनी गायब भएको खबर बाहिरिएपछि ईरानीहरुले झट्का लागेको प्रतिक्रिया दिएका थिए।